दफा ६६
मुद्दाको टिपोट खडा गर्ने
(१) फाँटवालाले मिसिलमा सामेल हुन आउने अभियोगपत्र, प्रतिवादीको बयान, आदेश, पुनरावेदन वा निवेदनपत्र वा साक्षी वा विशेषज्ञको वकपत्र लगायतका मुख्य लिखतको क्रमबद्धरुपमा सारांश लेखी मुद्दाको टिपोट तयार गरी निर्धारित सफ्टवेयरमा प्रविष्टि गराउनु पर्नेछ।
(२) मुद्दा सुनुवाईको लागि इजलाससमक्ष पेस हुनु अगावै रजिस्ट्रारले उपनियम (१) बमोजिम तयार भएको टिपोट मिसिल संलग्न भएको र सफ्टवेयरमा प्रविष्टि गरेको सुनिश्चित गर्नु पर्नेछ।
(३) यस नियम बमोजिम तयार भएको टिपोट मुद्दाको साप्ताहिक पेसी सूची प्रकाशन गर्नुपूर्व निर्धारित ढाँचामा छपाई गरी सम्बन्धित शाखा प्रमुख र रजिस्ट्रारले तोकेको अधिकृतबाट प्रमाणित गराई राख्नु पर्नछ।
(४) तोकिएको पेसीमा थप प्रमाण बुझ्ने आदेश भएमा त्यस्तो आदेश र आदेशबमोजिम भए गरेका काम कारबाहीको संक्षिप्त बेहोरासमेत फाँटवालाले टिपोटमा अद्यावधिक गराई राख्नु पर्नेछ।
(५) मुद्दाको टिपोट अदालतको आन्तरिक प्रयोजनका लागि मात्र उपयोग गरिनेछ। टिपोटको बेहोरा र लिखतको बेहोरा फरक परेमा लिखतमा उल्लेख भएको बेहोरालाई आधिकारिक मानिनेछ।